हिमपात कारण ताप्लेजुङको जनजीवन कष्टकर, अझै सञ्चालनमा आएन भीमदत्त राजमार्ग

काठमाडौं, माघ २२ । ताप्लेजुङमा पछिल्लो केही दिनयता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिदो मौसमका कारण जिल्लाको उच्च भेगमा निरन्तर हिमपात हुँदै आएको छ।

निरन्तरको हिमपातले उच्च क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । हिमपात र मौसम नखुल्दा बालबालिका तथा वृद्धवृद्धा प्रभावित भइरहेको स्थानीयको दुखेसो छ । शुक्रबार बिहानैदेखि पनि उच्च भेगमा बाक्लो हिमपात भइरहेको छ । यहाँका हिमाली बस्तीहरू फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला, याङ्मा, फक्ताङ्लुङकै वडा नंम्वर ६ लेलेपको घुन्सा, फले, ग्याब्लालगायतमा क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । घुन्साका कासाङ शेर्पाले लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर बनेको बताएका छन् ।

गत पुस अन्तिम साता घुन्सालगायत हिमाली बस्ती तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको र त्यसबेला परेको हिउँ नै अहिलेसम्म पग्लिन नपाएको शेर्पाले बताए । उनले भने, ुलामो समयदेखि मौसम नखुलेको र हिउँ पर्ने क्रम जारी रहेकाले पुसकै हिउँ अहिलेसम्म जमिरहेको छ । त्यसमाथि दिनहुँजसो हिउँ थपिँदा घुन्सासहित फले, याङ्मा ओलाङ्चुङगोला, तोक्पेगोला, पाथीभरा फेदीबजार लगायतका बस्तीको जनजीवन कष्टकर बनिरहेको छ ।

तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि बाक्लो हिउँ परेको फेदी बजारका राजेन्द्र महतले जानकारी दिए । महतका अनुसार पाथीभरा धाम, फेदीबजार र तल्लो फेदी काफ्लेपाटी क्षेत्रसम्म हिमपात भइरहेको छ । उता बिहीबार दिउँसोदेखि परेको हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग अझैं सञ्चालनमा आउन सकेको छैन्। राजमार्गमा बाक्लो हिउँ जमेकोले अबरुद्ध बनेको हो ।

सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु बीचबाटोमै अलपत्र परेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिउँ पन्छ्याउन खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। ‘डोजर प्रयोग गरेर राजमार्ग सफा गरिरहेका छौं । एकतर्फी रूपमा खुलिसकेको छ। अति आवश्यक सवारीसाधनलाई गन्तव्यमा पठाइरहेका छौं । अझैं पूर्ण रूपमा सञ्चालन आउन डेढ, दुई घण्टा लाग्छ,’ चन्दले भने।

जिल्लाको उच्च भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा पनि बाक्लो हिमपात भइरहेको छ । लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो । हिउँ खेल्नेको भिडले यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ । हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउने युवायुवतीहरुको ताँती छ ।

हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्