कांग्रेस कार्यसम्पादन समितिको बैठक अनिश्चित

काठमाडौं, माघ २० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेमा अन्योल देखिएको छ। शुक्रबार बस्ने भनिएको कार्यसम्पादन समितिको बैठक पछिल्लो राजनीतिक घटनाक्रमका कारण अनिश्चित बनेको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बैठक बस्ने तयारी गरिएको, तर स्थानीय निकायको निर्वाचन, एमसिसीलगायतका विषयका कारण तत्काल बैठकको सम्भावना नरहेको नयाँ पत्रिकालाई जानकारी दिए। उनले केही दिन ढिला गरी समिति बैठक बस्ने बताए । ‘बैठक बस्नैपर्ने जरुरी छ। यही साता बैठक राख्ने तयारी भएको हो । तर, राष्ट्रिय राजनीतिका कारण केही दिन ढिला हुने भएको छ। कहिले बस्ने भन्ने छलफल चलिरहेको छ,’ मुख्यसचिव पौडेलले भने।

१४ माघमा बसेको कांग्रेस कार्यसमिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। कार्यसमिति बैठक नबसेको अवस्थामा आवश्यक निर्णयको सहजताका लागि कार्यसम्पादन समिति गठन भएको थियो। कांग्रेस नेताहरूले यसै साताभित्र कार्यसम्पादन समिति बैठक राखेर भ्रातृ संस्थाहरूको महाधिवेशनलगायतका विषयमा आवश्यक निर्णय लिने बताउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्