एमसीसी पास गर्न प्रधानमन्त्रीले मागे महन्थ ठाकुरसँग सहयोग, अप्ठेरोमा प्रचण्ड

काठमाडौं , माघ २० । एमसीसी , स्थानीय तहको निर्वाचन लगाएतका विषयमा छलफल गर्न नेताहरुको भेटघाट तिब्र रुमा अगाडि बढेको छ ।

शिर्ष नेताहरुले भेटघाटका कार्यक्रमलाई तिब्रता दिएका हुन् । सोहि क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । भेटमा उनले संसद्बाट एमसीसी पारित गर्ने विषयमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र ठाकुरबीच एमसीसीलगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी मुलुकको हितमा भएकाले संसद्बाट पारित गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने बताएका थिए । यता जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

सोही क्रममा प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा आनाकानी गरे सभामुखको विकल्प समेत खोज्न सकिने समेत बताएका थिए । प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आए त्यसबेला आफूलाई सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए । ठाकुर प्रतिनिधिसभाका ज्येष्ठ सदस्य हुन् ।

अध्यक्ष ठाकुरले एमसीसीबारे सरकारले निणर्य लिनुपर्ने र त्यसपछि आफ्नो भूमिका प्रष्ट हुने प्रधानमन्त्री देउवालाई जवाफ दिएका थिए ।

अप्ठेरोमा प्रचण्ड

यता प्रचण्ड अमेरिकाको आर्थिक अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णायक दबाबमा परेका छन्।

एक महिनाअघि मात्र प्रचण्डले एमसीसीका कतिपय प्रावधान देशहितमा नभएको ठहरसहितको राजनीतिक प्रतिवेदन पार्टीको राष्ट्रिय महाधिवेशनबाट पारित गराएका थिए।

लगत्तै अहिले सत्ता साझेदार नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि दबाब दिएपछि प्रचण्ड अप्ठेरोमा परेका हुन्। त्यसैगरि देउवालाई प्रधानमन्त्री बनाउन समर्थन दिएका पाँचमध्ये दुई दल, कांग्रेस र जनता समाजवादी एमसीसी अनुमोदनको पक्षमा छन्।

जसपाका नेता डा। बाबुराम भट्टराईले एमसीसी अनुमोदनमा ढिलाइ नगर्न निरन्तर सचेत गराइरहेका छन्। अध्यक्ष उपेन्द्र यादव पनि एमसीसी पास गर्नैपर्ने पक्षमा छन्। तर, प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र, एमालेबाट विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमसीसीको अनुमोदनको विपक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्