सभामुखलाई हटाउन कांग्रेसले महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

काठमाडौं, माघ २० । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यसबारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए ।

सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए । उनले संसद्को काम कारबाहीलाई सञ्चालनमा ल्याउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने समेत बताए ।।

सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए । उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पार्टीले आउँदो निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए ।

प्रतिक्रिया दिनुहोस्