संसद् अवरोध हटाउन एमालेका चार शर्त !

काठमाडौं, माघ १९ । नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनको लागि चार शर्त अगाडि सारेको छ ।

सभामुख अग्नि सापकोटाको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि संसद् अवरोध हटाउने संकेत गरेको हो । १४ सांसदमाथि कारबाही या सभामुखको राजीनामालाई शर्त बनाएर एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा एमाले उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले आफ्नो भूमिकाले एमाले विभाजन भएकोमा सभामुखले क्षमा मागे पनि संसद् सञ्चालन हुने बताएका हुन् ।

‘पार्टीले कारवाही सिफारिश गरेका १४ जना सांसदको सम्बन्धमा सभामुखले सूचना नटाँसेकोमा हामीले विरोध जनाउँदै आएका हौं । आज पनि सूचना टाँस्नुस्, एमालेले कारवाही गरेका सांसदलाई कारवाही होस् । त्यसको संवैधानिक हैसियत जे भए पनि इतिहासमा दर्ज हुन्छ,’ पहिलो शर्तबारे ज्ञवालीले भने ।

पहिलो शर्त १४ जनामाथिको कारवाहीको सूचना प्रकाशित गर्ने, दोस्रो सभामुखले सार्वजनिक रुपमा माफी माग्ने, तेस्रो सभामुखले राजीनामा गर्ने र चौथो माधव नेपालको पार्टीको हैसियतबारे सर्वोच्चमा विचाराधीन मुद्दाको टुंगो लाग्नुपर्ने एमालेको शर्त रहेको ज्ञवालीले बताए ।

‘दोस्रो कुरा सार्वजनिक रुपले क्षमायाचना गर्नुस्, मेरो कारणले एमाले विभाजन भयो भनेर माफी माग्नुस् । तेस्रो कुरा सभामुखले पद छाड्दिनुस्,’ ज्ञवालीले अगाडि भने, ‘प्रचण्डले परमादेश दिने न्यायाधीशलाई गुन लगाउने कुरा भन्नु भएको थियो । सर्वोच्चमा रहेको मुद्दा छिटो फैसला गराउन सक्नु भयो भने जे आए पनि मान्छौँ ।’

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले संसद्लाई निकास दिन एमालेसँग आग्रह गरे । ‘अग्नि सापकोटा मन पर्दैन भनेर निकास निस्कँदैन माधव नेपाललाई मान्दैनौँ भनेर निकास आउँदैन । कसैको विरोध मात्र गरिरहनु स्लागा हो,’ रिजालले भने ।

प्रतिक्रिया दिनुहोस्