स्थानीय तहको निर्वाचनः कार्ययोजना पेस गर्न ४ वटै सुरक्षा निकायलाई निर्देशन
काठमाडौँ , माघ १९ । आज केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा देशको वर्तमान सुरक्षा चुनौतीबारे छलफल भएको छ ।
साथै केन्द्रीय सुरक्षा समितिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बुधबार दिउँसो मन्त्रालयमा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।
यस्तै आगामी जेठमा प्रस्ताव गरिएको चुनावका सन्दर्भमा सुरक्षा योजना बनाउनेबारे पनि प्रारम्भिक छलफल भएको छ ।
निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको छैन । तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो ।
त्यस्तै सिंहदरबारमा बसेको बैठकमा अहिलेको अवस्थामा सीके राउतले किसानको नाममा तराई क्षेत्रमा जारी राखेको आन्दोलन, एमसीसीको विरोधमा विप्लवसहित विभिन्न पक्षले जारी राखेको आन्दोलन सुरक्षा चुनौतीको रुपमा रहेको ठहर गरिएको छ। यस्तै विद्यार्थीको आन्दोलनबाट उत्पन्न भएको सुरक्षा चुनौतिका साथै यी समग्र विषयमा प्रभावकारी रुपमा शान्ति सुरक्षा दिने विषयमा छलफल भएको बैठकपछि एक अधिकारीले जानकारी दिए ।
यस्तै स्थानीय तहको निर्वाचनमा थप जनशक्ति आवश्यक पर्ने भएकाले म्यादी भर्ना गर्नुपर्ने निष्कर्ष निकालिएको छ। निर्वाचन आयोगले मंगलबार प्रधानमन्त्रीलाई बुझाएको लिखित सुझावमा पनि म्यादी भर्ना गर्न सुझाव दिएको थियो ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो । सुरक्षा निकाय प्रमुखले निर्वाचन सुरक्षासम्बन्धी आ-आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्