कांग्रेसले सरकारको कामको समीक्षा गर्ने !

काठमाडौं, माघ १९ ।   सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सरकारको कामको समीक्षा गर्ने भएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । आज बुधवारको कुराकानीमा महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताए ।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने मन्त्री शर्माले बताए । जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउने उनले बताए । कोभिड-१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रूपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उनको भनाइ छ ।

त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरू बनाउने दिर्शातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए । उनले भने, ‘कांग्रेसले चुनावतर्फ जाँदै गर्दा दुई वटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको तीन वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरीतका गतिविधि, जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ । तर हामी उत्तिकै के सजग छौँ भने हाम्रो पनि सरकारको एक वर्षको कार्यकालको बारेमा व्याख्या हुन्छ । हामी आफैँ पनि समीक्षा गरेर जान्छौँ ।’

महामन्त्री शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षा पूरा हुन नसक्ने पनि बताए । सरकार संविधानअनुसार चलाउने, संविधान र संसद्को रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र चुनाव सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै त्यसअनुसार भए/नभएको जनताले समीक्षा गर्नुपर्ने उनले बताए ।

त्यसैगरी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनको सम्बन्धमा पनि टुङ्गोमा पुगिने उनले बताए । केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुने पनि मन्त्री शर्माले जानकारी दिए । यसअघि भर्चुअल रूपमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्