गठबन्धन टुट्नेवाला छैन, झन् बलियो हुन्छ: माधव नेपाल

काठमाडौं , माघ १९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन कुनै पनि
हालतमा नतोडिने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेता
नेपालले यस्तो बताएका हुन् । गठबन्धन थप बलियो हुने बताउँदै नेता नेपाललले चुनावमा गठबन्धनका दलहरु एक भएर अघि बढ्ने बताए ।

उनले भने, ‘पाँच दलीय गठबन्धन गरेका छौं । यो गठबन्धन टुट्नेवाला छैन । गठबन्धनलाई थप बलियो बनाउँछौं । समाचारमा अनेक कुराहरु आएका छन् । ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस् । यो गठबन्धन टुट्ने बेला छैन ।’  फेरि उनले थपे , ‘प्रतिनिधि सभा क्रियाशील हुनुपर्ने बेलामा बाधा व्यवधान खडा गर्ने काम भएको छ । विध्वशंकारी भूमिका निर्वाह गर्ने प्रवृत्ति हाबी भएको छ ।’

आज मध्यान्हतिर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल गरेको नेताले बताए । ‘हामी तीनैजना बसेर छलफल गरौं । पत्रपत्रिकामा मनगढन्ते कुरा आएका रहेछन्,’ उनले भने, ‘यो गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल गरेका छौं ।’

यस्तै उनले जेठमा हुने स्थानीय तहको चुनावमा पनि गठबन्धनका साथ जाने बताए ।साथै उनले आगामी दिनमा पनि देश गठबन्धनको यात्रामा अगाडि बढ्ने बताए ।  वर्तमान गठबन्धनले नेपालको व्यवस्था गलत दिशामा जानबाट रोकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्