घाटामा आयल निगम, भन्यो – अझै महिनाको साढे ४ अर्ब ऋण चाहिने अवस्था छ

काठमाडौं, माघ १९ ।  पेट्रोलियम पदार्थको मूल्य बढाउँदै गएको नेपाल आयल निगमले अझै पनि महिनाको साढे ४ देखि ५ अर्बसम्म ऋण चाहिने बाध्यात्मक अवस्था रहेको जनाएको छ । निगमले सानो अंश मात्रै मूल्य समायोजन गरिएको दावी गर्दै पेट्रोल तथा डिजेलमा ठूलो रकम नोक्सानीमै रहेको उल्लेख गरेको छ ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार मूल्य समायोजनपछि अब पाक्षिक (१५ दिनको) घाटा २ अर्ब २३ करोड यथावत् रहनेछ । हालसम्मको सबै बचत रकम सकिएको जनाउँदै यसअघि निगमले सरकारी मातहतको मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ झिकेर भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गरेको थियो । निगमले भारतलाई सामान्यत: १५-१५ दिनमा भुक्तानी गर्दै आएको छ ।

निगमले यस्तै अवस्थामा आपूर्ति व्यवस्था सहज बनाइराख्न कठिनाई रहेकाे समेत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थ खरिदवापत आवश्यक पर्ने रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाइराख्न आगामी दिनमा निगमलाई कठिनाई हुने देखिन्छ ।’ हिजो रातिबाट मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको थियो ।

सो मूल्य वृद्धिपछि अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा र डिजेलमा ११ रुपैयाँ १३ पैसा नोक्सानी रहेको निगमको दावी छ । निगमका अनुसार एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ घाटा छ । मट्टितेल र हवाई इन्धनमा भने नाफा रहेको पनि निगमले स्पष्ट पारेको छ । मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयााँ ५० पैसा र वाह्य हवाई इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा रहेको छ ।

मूल्य बढेपछि पनि भारतको सिमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा र डिजेल २५ रुपैयाँ ३१ पैसा सस्तो रहेको निगमको भनाइ छ ।हाल काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १४२ तथा डिजेल र मट्टटितेल १२५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्