दक्षिण कोरिया दशौं पटक फिफा विश्वकपमा छनोट
काठमाडौँ , १९ माघ । एसियाली राष्ट्र दक्षिण कोरिया आगामी नोभेम्बर–डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।
विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार सिरियालाई २–० ले हराउँदै दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान पक्का गरेको हो ।
सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाले सन् १९८६ देखि भने लगातार ९ पटक विश्वकप खेलिसकेको छ । सन् २००२ मा घरेलु मैदान र जापानमा भएको विश्वकपमा सेमिफाइनल पुग्नु दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ट नतिजा हो ।
तेस्रो चरणको समूह ए को खेलमा दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे । ५३ औं मिनेटमा किम र ७१ औं मिनेटमा क्वोनले गोल गरेका थिए ।
जितपछि ८ खेलबाट २० अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा छ । यसअघि नै शीर्ष स्थानको इरान विश्वकपमा छनोट भइसकेको छ ।
पछिल्लो खेलमा युएईलाई १–० ले पराजित गरेको इरान २२ अंकसहित शीर्ष स्थानमा छ ।
एसियाली क्षेत्रको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई–दुई टिम भने सिधै विश्वकपका लागि छनोट हुनेछन् ।
समूह बी मा भने रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । जापानले साउदी अरेबियाको अपराजित यात्रा ब्रेक लगाइँदिदा अष्ट्रेलिया ओमानसँग बराबरीमा रोकिएको छ ।
मंगलबार जापानले साउदीलाई २–० ले हरायो भने अष्ट्रेलियाले ओमानसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो ।
पहिलो हारपछि पनि ८ खेलबाट १९ अंकसहित साउदी समूह बी को शीर्ष स्थानमै छ । १८ अंक जोडेको जापान दोस्रो स्थानमा छ भने अष्ट्रेलिया १५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
अहिलेसम्म छनोट भएका १५ टिम
युरोप ः फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स
दक्षिण अमेरिका ः ब्राजिल, अर्जेन्टिना
एसिया ः इरान, दक्षिण कोरिया
प्रतिक्रिया दिनुहोस्