प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै, स्थानीय निर्वाचन मुख्य विषय

काठमाडौँ , माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन बारे छलफल गर्न आज ३ बजे आयोगका पदाधिकारीलाई बोलाएका हुन् ।

आयोगले यसअघि नै स्थानीय निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । सत्तारुढ गठबन्धनभित्रको लामो समय निर्वाचन बारे मतभेद भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको छैन ।

यद्यपी गठबन्धनको पछिल्लो बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले मंगलबार आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका छन् ।

गठबन्धनको बैठकले संविधानअनुसार ऐनमा आवश्यक संशोधन गर्न सुझाव दिए पनि सरकारले वर्तमान ऐनमा संशोधन नगरी जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेको छ ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअघि स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने स्थानीय तह निर्वाचन ऐन, ०७३ को व्यवस्थाबमोजिम यसअघि आयोगले एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख २२ गते निर्वाचन गर्न सकिने सुझाव दिएको थियो ।

प्रधानमन्त्री देउवाले आजै मात्र वाग्मती प्रदेशका कांग्रेस पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्