२८ करोड राजस्व ठगी मुद्दामा फसाइएका उमाशंकर २५ हजार धरौटी तिरेर छुटे

काठमाडौं, माघ १६ । २८ करोड राजस्व छली मुद्दामा फसाइएका बाराका उमाशंकर राय भर सर्वोच्च अदालतको आदेशपछि २५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्।

सर्वोच्चको आदेशपछि उनी आज धरौटी तिरेर रिहा भएका हुन्। कर छलीमा संलग्न समूहले उनको नाममा कम्पनी खडा गरी करोडौँ रुपैयाँ राजस्व छली गरेको थियो। राजस्व अनुसन्धान विभागले ३ माघ ०७८ मा रायलाई विपक्षी बनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो। शुक्रबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले आरोपितको पारिवारिक स्थिति, संलग्नताको स्थितिजस्ता पक्षलाई मध्यनजर गर्दै यस्तो आदेश दिएको थियो।

मुद्दामा पाटन उच्च अदालतले ७५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो। सर्वोच्चले उक्त आदेश बदर गर्दै २५ हजार धरौटीमा रिहाको आदेश गरेका थियो।

बाराको परवानीपुर गाउँपालिका घर भएका रायको नाममा ब्लुक्रस ट्रेडर्स नामको कम्पनी खडा गरी राजस्व छली भएको थियो। उच्चका न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले उनीहरूसँग ७५ लाख धरौटी माग गर्न आदेश गरेका थिए। तर, सर्वोच्चले भने आरोपितहरूबाट वास्तविक कारोबार नभएको भन्दै धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

विभागले रायसहित केही मजदुर तथा निम्न वर्गका व्यक्तिमाथि करोडौँको राजस्व चुहावट गरेको आरोपमा उच्चमा मुद्दा दायर गरेको छ। १ पुस ०७७ मा उच्चमा दायर यो मुद्दा विचाराधीन छ। रायसहित यस मुद्दामा ११ जना विपक्षी छन्। उनीहरूको नागरिकतालगायत कागजात दुरुपयोग गरी नक्कली कम्पनी खडा गरेर करोडौँको राजस्व छली भएको देखिएपछि विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्