सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक, संसद बैठक पनि भोलि नै

काठमाडौं, माघ १५ । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

‘भोलि बिहान ११ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ न्यौपानेले भने, ‘दशौं अधिवेशनका हरेक बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था बैठक राख्नु भएको छ ।’ संसद बैठक आइतवार दिउँसो १ बजे बस्दैछ । सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब छ । तर, संविधान र कानुन बाझिएकाले त्यसलाई संशोधन गर्नुपर्ने सुझाव छ ।

स्थानीय तहको निर्वाचन मिति तोक्न ढिलाइ भइरहेका बेला संसदको बैठक बस्न लागेको हो । नेकपा एमालेले भदौदेखि संसद बैठक अवरुद्ध गरिरहेको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले संसद बैठकमा पेश हुने एजेन्डा तय गर्ने अभ्यास छ । तर एमालेले अडान नछाडेका कारण संसदको अवरोध हट्ने सम्भावना न्यून छ ।

 

प्रतिक्रिया दिनुहोस्