सत्ता गठबन्धन बैठक शनिबार बस्दै : मुख्य एजेन्डा स्थानीय चुनाव

काठमाडौं , माघ १४ । सत्ता गठबन्धनका दलहरुको बैठक शनिबार बिहानका बस्ने भएको छ । देउवाले शनिबार विहान ९ बजेका लागि बैठक डाकेका छन् ।

प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचन नै हुने बताइएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ । स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचनगरी कार्यभार सम्हालेकै दिन पद हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।

तर, संविधानको धारा २५ ले स्थानीय तहको निर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्ष तोक्दै थप छ महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरेपछि अहिले संविधान र कानुन कुन मान्ने भन्ने बहस चलिरहेको छ । सत्ता गठबन्धनले संविधानसँग ऐन बाझिए बदर हुने संविधानको धारा १ मा टेकेर ऐन संशोधन गर्ने निर्णय गरिसकेको छ ।

‘संविधानविद’को सुझावमा लिएको त्यो निर्णय सरकारले कार्यान्वयका लागि संशोधन प्रस्ताव संसदमा पठाइसकेको छैन । उक्त निणर्य नहुँदा निर्वाचन आयोगले सरकारलाई कानुन अनुसार वैशाख मसान्तभित्र चुनाव गराउन दबाब बढाइरहेको छ । यता आज मात्रै सत्तारुढ गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका विषयमा निर्णय गर्नुपर्ने भन्दै यसमा ढिलो गर्नु उचित नहुने बताएका थिए । त्यसपछि गठबन्धनका नेताहरुले चाँडै बैठक बसेर निर्णय लिन सहमति दिएका हुन् । उनीहरुको सहमति पछि भोलि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्