गठबन्धनबाट अलग हुने अभ्यासमा कांग्रेस, यस्तो छ देउवाको योजना

काठमाडौं, माघ १३ ।  सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस सत्ता साझेदार गठबन्धनबाट अलग हुने अभ्यासमा जुटेको छ। अब हुने स्थानीय, प्रदेश र संघीय चुनावमा कांग्रेस गठबन्धन नगरी मैदानमा उत्रिने भएको छ।

कांग्रेसका अधिकांश पदाधिकारी र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाइतरको समूहले पनि गठबन्धन गरेर चुनावमा जान नहुने दबाब दिइरहेको छ। हालै मात्र शेखर कोइराला समूहको बैठकले अब गरिने कांग्रेसको निर्णय पार्टीमा हुनुपर्ने र गठबन्धनसँग जिम्मेवार बन्न नहुने ठहर गरेको थियो।

१४औं महाधिवेशनमा कतिपय नेतालाई चुनावी टिकटलगायतको आश्वासन दिएका कारण पनि देउवाले गठबन्धनबाट अलग हुने निर्णय लिनुपर्ने हुन्छ। कांग्रेसभित्र गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिन सक्ने विचारको मत बलियो बनेको छ।

एक नेता भन्छन्,‘अघिल्लो चुनावमा पनि धोका दिएर कम्युनिस्टले गठबन्धन गरेका थिए। अहिले माओवादी र माधवकुमार नेपालको पार्टीको सिटका लागि कांग्रेसले आफ्नो विचारको मतलाई खर्च गर्न सक्तैन।’

राष्ट्रिय सभाको १९ सिटका लागि भएको चुनाव नै गठबन्धनको अन्तिम साझेदारी बनेको कतिपय नेताको ठम्याई छ। ‘अहिले कम्युनिस्ट विभाजित रहेको अवस्थामा कांग्रेस एक्लै मैदानमा जानेछ। एमाले कुनै पनि हालतमा माओवादी र नेकपा एकीकृत समाजवादीसँग सहकार्य गरी चुनावमा जाँदैन’, ति नेता भन्छन्,‘यसको फाइदा कांग्रेसले लिनेछ।’

एमाले मुख्य प्रतिस्पर्धी भए पनि कतिपय स्थानमा माओवादी र नेकपा समाजवादीसँग पनि भिँड्नुपर्ने भएकाले कांग्रेस केन्द्रदेखि नै गठजोड गरेर भागवन्डामा चुनाव नलड्ने तयारी गरेको छ। ‘कतिपय निर्वाचन क्षेत्रमा सहकार्य हुनसक्ला तर केन्द्रदेखि नै सिट बाँडफाँट गरेरचाहिँ कांग्रेस जाँदैन, जानु हुँदैन भन्ने मत पार्टीभित्र बलियो छ’, एक नेता भन्छन्।

सभापति देउवा भने अलमलमा रहेका छन्। बालुवाटार स्रोतका अनुसार गठबन्धन गरेर अगाडि बढ्नका लागि माओवादीलगायतको जोड रहे पनि पार्टीको निर्णय के हुन्छ त्यसआधारमा नै सभापति देउवा अगाडि बढ्नेछन्। ‘अहिले नै निर्णय गरिसक्ने अवस्था छैन, परिस्थितिलाई हेरेर सभापतिले एउटा निचोड निकाल्नुहुनेछ। पार्टीलाई बाइपास गरेर निर्णय आउनेछैन’, बालुवाटार स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्