गठबन्धन टुट्दैन , राष्ट्रियसभाको परिणामले उत्साहित छौँ: माधव नेपाल

काठमाडौं, माघ १३ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनले पार्टीमा सुखद परिणामको संकेत गरेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो संकेत गरेका
हुन् । उनले राष्ट्रियसभाको परिणाम गठबन्धनको पक्षमा आएको बताए।आगामी निर्वाचनसम्म नै गठबन्धनले निरन्तरता पाउने जिकिर पनि उनले गरे ।

नेकपा एमाले ललितपुर जिल्ला कमिटीका पूर्व उपाध्यक्ष एवम् बागमती प्रदेश कमिटीका सदस्य श्यामकृष्ण सिलवालसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु उत्साहित भएको बताए।

साथै उनले कारोना महामारीबीच पनि संगठन विस्तार र कमिटी गठनले तीब्रता पाइरहेको बताउँदै एकीकृत समाजवादीमा समाहित हुनेहरुको संख्या तीव्ररुपमा बढिरहेको उल्लेख गरे ।

देशमा तीनै तहका निर्वाचन चाँडो र समयमै गर्न आफूहरु तयार रहेको बताउँदै अध्यक्ष नेपालले विगतमा स्थानीय निर्वाचन तीन चरणमा भएकोले स्मरण गराए।

२०७४ सालमा असार १४ र असोज २ गते भएको दोस्रो र तेस्रो चरणको निर्वाचनबाट विजयी भएका स्थानीय तहका जनप्रतिनिधिलाई पनि पाँच वर्ष कार्यकालय पूरा गर्न दिने संविधानमा प्रष्ट उल्लेख रहेको उनले जिकिर गरे।

उनले संविधान र ऐन बाझिएमा संविधानअनुसार अगाडि बढनुपर्ने भएकाले यसबारे दलहरुबीच छलफल भइरहेको पनि उल्लेख गरेका छन्।छिट्टै उपयुक्त निष्कर्षमा पुगिने पनि उनले बताए। अध्यक्ष नेपालले एमालेमा व्यक्तिवादी र गुटमा रमाउने शैली बढको पनि आरोप लगाए।

त्यहीकारण पार्टीका इमान्दार नेता कार्यकर्ता एकीकृत समाजवादीको मूलघरमा आइरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्