कर्मचारीको कोभिड बिदा घट्यो, अब सात दिन मात्र
काठमाडौं, माघ १२ । कोभिड– १९ संक्रमित पदाधिकारी तथा कर्मचारीले पाउँदै आएको बिदा घटेको छ । कोभिड पुष्टि भई होम आइसोलेसनमा बसेका जुनसुकै सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीले यसअघि १४ दिन बिदा पाउँदै आएकामा हालैको मन्त्रिपरिषद्को बैठकबाट सात दिनमा झारिएको हो ।
तर, कोभिड संक्रमण भई अस्पताल भर्ना भएकाको हकमा भने डिस्चार्ज भएको तीन दिनसम्म बिदा दिइनेछ । त्यसका लागि अस्पतालको सिफारिस र कार्यालय प्रमुखको तोक चाहिन्छ । कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूले कोभिड परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्म बिदा पाउनेछन् । यसअघि कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीले चार दिन बिदा पाउँदै आएका थिए ।
मुलुकमा कोभिडको तेस्रो लहर तीव्र फैलिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरेको छ । सोहीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले पनि सबै मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान, विभाग, ७७ वटै जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहमा परिपत्र गरेको छ । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले संक्रमण भएपछि सामान्यतया सात दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा घटाइएको बताए । यसअघि कम्तीमा १४ दिन आइसोलेसन बस्नुपर्ने प्रावधान थियो । मन्त्रिपरिषद्को १० मंसिर ०७७ को बैठकले कोभिड बिदाको निर्णय गरेको थियो ।
तर, ३० पुसको मन्त्रिपरिषद् बैठकले बिदा घटाएको हो । सामान्यतया निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । कोभिड बिदा भने संक्रमितको बिदा वा सञ्चिति बिदाबाट कट्टी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्