पछिल्लो २४ घण्टामा थपिए १२ हजार ८ कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौ‌, माघ ११ । नेपालमा पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको पीसीआर परीक्षणमा ९४३२ र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५७६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ । यता थपिएका नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामा फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँमा ४ हजार ८७५, ललितपुरमा ७८२ तथा भक्तपुरमा ५१५ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ तथा भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

उपत्यकाबाहिर मोरङ जिल्लामा ४४२, सुनसरीमा २९१, काभ्रेपलाञ्चोकमा २१२, कास्कीमा ३११, बाँकेमा १२१, रुपन्देहीमा २२३ र कैलालीमा १६७ जना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्