थ्रीस्टारलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा
काठमाडौं, माघ ११ । त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। राजीव गुरुङको निर्णायक गोलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै आर्मी सेमीफाइनलमा प्रवेश गरेको हो ।
मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टारलाई १–० गोल अन्तरले पाखा लगाउँदै आर्मीले अन्तिम ४ मा स्थान पक्का गरेको हो।
योसँगै आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा आर्मीले अग्रता बनाएको थियो। खेलमा थ्रीस्टारले गोल गर्ने केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार नेपाल एपीएफ फुटबल क्लब र मछिन्द्र क्लब खेल्नेछन्। एपीएफले बीवाईएससी मिनेसोटा अमेरिकालाई तथा मछिन्द्रले संकटालाई हराउँदै अन्त्मि ४ मा स्थान बनाएका थिए। दोस्रो सेमिफाइनल खेलमा बिहीबार आर्मीले मनाङसँग खेल्नेछ। मनाङले नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो।
फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्