वैशाखमा निर्वाचन सम्भव नभय दीर्घकालमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ : गगन थापा

काठमाडौँ , १० माघ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् ।

सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिए ।

‘स्थानीय तहको सन्दर्भमा पाँच वर्षको अवधि हुने र स्थानीय तहको रिक्तता नहुने भन्ने कुराको संविधानमा स्पष्ट छ,’ उनले भने, ‘त्यो नै आजका दिनमा हामीले अनुसरण गर्ने बाटो हुनुपर्छ ।’ ​ कानुनको कुनै छिद्र देखाएर वैशाखको निर्वाचन सार्ने कोसिस गरिए दीर्घकालमा ठूलो क्षति पुग्ने उनको भनाइ छ ।

‘वैशाखको निर्वाचन सार्ने वा कानुनको कुनै छिद्र देखाएर हामीले आफ्ना तात्कालिक स्वार्थहरुलाई पुरा गर्ने कोसिस गरौं भने दीर्घकालमा ठूलो क्षति पुर्याउँछ,’महामन्त्री थापाले भने । काँग्रेसले यो बेलामा संविधानको मर्म अनुसार स्थानीय चुनाव तत्काल गरिहाल्नु पर्नेमा थापाको जोड छ ।

यस्तै थापाले स्थानीय तहको निर्वाचनका सन्दर्भमा तत्काल केन्द्रीय कार्यसमिति बैठक समेत बस्नुपर्ने बताए । ‘पार्टीले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पोजिसन लिने हो भने तत्काल केन्द्रीय समितिको बैठकबाट छलफल गर्नुपर्यो नि ? जसबारे भोलि सिंगो पार्टीले उत्तर दिनुपर्छ । यो विषय पार्टीका दुई तीन जना नेता बसेर गरेर हुन्छ ? ,’महामन्त्री थापाको प्रश्न छ ।

सामाजिक दुरी कायम गरेर भएपनि तुरुन्त पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्ने थापाले बताए । ‘पदाधिकारी सदाधिकारी होइन । अब केन्द्रीय कमिटी बैठक बस्नुपर्छ । जस्तो अप्ठ्यारो परे पनि बैठक बस्नुपर्छ । सामाजिक दुरी कायम गरेर भएपनि तुरुन्त पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय समितिको बैठकमा यस विषयबारे छलफल हुनुपर्छ । भर्खर महाधिवेशनबाट आएका केन्द्रीय सदस्य साथीहरुले कुरा राख्न पाउनुपर्छ ।’

कोभिड–१९ लाई बहाना बनाएर केन्द्रीय समिति बैठक नराखि स्थानीय तहको चुनाव सार्ने निर्णय गरिए पार्टीले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताए । ‘अब कोभिड–१९का बीचमा नै बैठक राख्नुपर्ने अवस्था आयो । कोभिड छ बैठक बस्न सकिएन । बैठक बस्न नसकिएकाले गर्दा निर्णय गरियो भने पार्टीले धेरै ठूलो मूल्य चुकाउनुपर्छ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्