लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर ६० प्रतिशत पुग्यो

काठमाडौँ , १० माघ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सय जनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।

‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ ’स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा.विकाश देवकोटाले भने–‘पुस १० यता मात्रै प्रदेशमा ५ हजार ५ सय २८ जना सक्रिय संक्रमित थपिएका छन्।’

संक्रमितमध्ये ५ हजार ३६ जना होम आइसोलेसनमा, ५० जना संस्थागत आइसोलेसनमा, ३३ जना आईसीयू र १ जना भेण्टिलेटरमा उपचाररत रहेका डा. देवकोटाले जानकारी दिए ।

संक्रमण दर बढी भएपनि अस्पतालमा भर्ना हुने दर पहिलाको तुलनामा धेरै कम रहेको र पुस १० यता प्रदेशमा ११ जनाको मृत्यु भएको डा.देवकोटाले बताए ।

प्रदेशका विभिन्न अस्पतालहरुमा ६ सय २४ एचडीयू ,२ सय ५३ आईसियु र ६२ वटा भेन्टिलेटर बेड तयारी अवस्थामा रहेका छन् ।

प्रदेशमा अहिलेसम्म लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अझैं १८ लाख ६२ हजार भन्दा बढी डोज खोप आवश्यकता रहेको सचिव देवकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्