नगर विकास कोषले ल्यायोे पार्किङ व्यवस्थापन गर्ने नयाँ प्रस्ताव

काठमाडौं । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना सञ्चालन गर्दै आएको नगर विकास कोषले काठमाडौमा बहुतले मेकानिकल पार्किङमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ ।
उपत्यकामा हुने अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न यो योजना ल्याइएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले बताए । उक्त परियोजनामा लगानी गर्नका लागि काठमाडौं महानगरपालिकाभित्र कम्तीमा आठ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ ।

आयोेजना निर्माण गर्न ईच्छुक स्थानीय तह, सरकारी तथा गैर–सरकारी संस्थाहरुले १५ दिनभित्र आवश्यक कागजातसहित विकास कोषको कार्यलयमा पेश गर्नुपर्ने जनाइएको छ । कोषले यही माघ ७ गते सूचना प्रकाशित गरेको हो ।

काठमाडौंका थापाथली, त्रिपुरेश्वर, कालीमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खुलगायतका मुख्य व्यावसायिक सडक छेउहरु वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ । प्रस्ताव पेश गर्नका लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघसंस्थाको नवीकरणसहितको प्रमाणपत्रको प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्