स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा पर धकेल्न पाइँदैन : अध्यक्ष ओली

काठमाडौं , माघ ९ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनका सन्दर्भमा कुनै पनि अलमल, धोखा र बहानाबाजी आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका हुन् ।

त्यस्तै जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताउँदै नेकपाको स्पष्ट अडान भएको र यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइँदैनउनको तर्क छ ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिइसकेको छ । सत्ता गठबन्धनबीच आगामी मंसिरमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नेबारे बहस हुँदै आएको छ । सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेको छ ।

तर सोही बेला एमाले अध्यक्ष ओलीले विज्ञप्तिमार्फत् पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नु भएको हो । संविधानले स्थानीय तह रिक्तताको परिकल्पना नै नगरेको भन्दै एमालेले निर्वाचन आयोगले सिफारिस गरे अनुसारकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ मा सकिंदै छ । स्थानीय तह जनप्रतिनिधिविहीन भए जनता सेवा सुविधाबाट बन्चित हुने भन्दै एमालेले कार्यकाल सकिनु भन्दा २ महिना अगाडि नै निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थालाई स्मरण समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्