निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री देउवाको आग्रह, भने- संसदभित्रको विवाद छिट्टै समाधन हुन्छ
काठमाडौं, माघ ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव नरहेको बताएका छन्।शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
कोभिड संक्रमण बढेसँगै सिटामोलसहितका सामान्य औषधिको पनि हाहाकार भइरहेका बेला देउवाले आर्थिक तथा सामाजिक क्रियाकलाप जारी राख्ने गरी सरकारले काम गरिरहेको बताए । उनले कोभिड १९ को संक्रमण र तेस्रो लहर नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बढाइएको पनि जानकारी गराए ।
उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उनले अर्थतन्त्र र सामाजिक कृयाकलामा सकेसम्म काम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारीसमेत दिए ।
त्यस्तै प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै निर्वाचनको पूर्वतयारीको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।प्रधानमन्त्री देउवाले तीनवटै तहको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
देउवाले संसदमा रहेका सबै दलसँग संवाद गरी संसदको विचाराधीन विषयलाई निष्कर्षमा पुर्याउने पनि उल्लेख गरे । देउवाले संसदभित्रको विवाद छिट्टै समाधन गर्ने बताएका छन्। उनले राष्ट्रका नाममा सम्बोधन गर्दै संसदभित्रको विवाद सबै राजनीतिक दलहरुसँग परामर्श गरेर समाधान गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्