यस्तो छ राष्ट्रियसभा निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २१ बुँदे निर्देशन जारी

काठमाडौं , माघ ६ । निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन स्वास्थ्य मापदण्ड स्वीकृत गरेको छ ।

आयोगले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले मतदान तथा मतगणना कार्यमा संलग्न हुने मतदाता, मतदान कर्मचारी, उमेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायत व्यक्तिलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड स्वीकृत गरी निर्देशनहरू जारी गरेको हो ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्नुपर्नेछ ।

त्यस्तै, आयोगले मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका व्यक्तिले मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने निर्देशन दिएको छ ।

मतदानस्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्रीसहित दुईजना स्वास्थ्यकर्मी रहेको हेल्थडेस्कको व्यवस्था हुने आयोेगले जनाएको छ ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उमेदवार वा उमेदवारका प्रतिनिधि एवम् मतदाताले मतदानस्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

पूर्ण खोप लगाएका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदानस्थल, मतदान केन्द्र र मतगणनास्थलमा खटाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्