आज बस्ने भनिएको पाँच दलीय उच्चस्तरीय समन्वय समितिको बैठक स्थगित

काठमाडौं, माघ ६ । आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ। स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको थियो । तर सो बैठक स्थगित भयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो। तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको जनाइएको छ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरेर घोषणा गर्न सरकारलाई दबाब दिएपछि सत्ता गठबन्धनको बैठकमा निर्वाचनले विषय प्रवेश गरेको हो।

पाँच दलीय‍ गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत शीर्ष नेता रहेको समिति गठन गरेको थियो। मन्त्रिपरिषद्‍बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्यका रुपमा रहेका छन्।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न आयोग र प्रमुख प्रतिपक्ष दल एमालेले दबाब दिँदै आएको छ।

आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ। आयोगले आगामी वैशाख १४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसँग यसअघि नै प्रस्ताव गरिसकेको छ। एकै चरणमा सम्भव नभए वैशाख १४ गते पहिलो र वैशाख २२ गते दोस्रो चरणको निर्वाचन मिति तोक्ने आयोगको प्रस्ताव गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्