उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा
काठमाडौं, ४ माघ । देशभर कोरोना भाइसरको संक्रमण र सरकार सुस्त भएको बेला सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको छ । उक्त बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सुरु भएको हो ।
बैठकले राष्ट्रिय सभा निर्वाचन र कोरोना महामारी लगायत विषयमा छलफल केन्द्रित हुने छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् ।
सरकार संचालनमा सहयोग गर्ने उद्देश्यले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् । समितिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू छन् ।
साथै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि गरेको तयारी, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जनाउँदै आएको विरोध, कोरोना महामारीका विषयमा पनि बैठकमा छलफल हुने स्रोतको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्