च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण, आजको पुलिसविरुद्धको खेल स्थगित
काठमाडौँ , माघ २ । च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको आइतबार हुने शहिद स्मारक ‘ए’ डिभिजन खेल कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघले च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित भएको जानकारी दिएको हो ।च्यासलले एन्फालाई आफ्ना १९ खेलाडीमा कोरोना पोजेटिभ देखिएको भन्दै एनपीसीविरुद्धको खेल स्थगित गर्न अनुरोध गरेको थियो ।
एन्फाको लिग कमिटीले मेडिकल कमिटीको सल्लाहमा खेल स्थगित गर्ने निर्णय गरेको छ । खेलको नयाँ मिति छिट्टै तय हुने एन्फाले जनाएको छ ।दशरथ रंगशालामा आइतबार दिउँसो ४ बजेर ४५ मिनेटमा च्यासल र पुलिसबीच खेल्ने तालिका थियो ।
हाल लिगमा नेपाल पुलिस क्लब ८ खेलमा ७ अंकसहित ११औं स्थानमा रहेको छ भने च्यासलको ८ खेलमा ५ अंक रहेको छ र हाल रेलिगेसन जोनमा रहेको छ ।
एन्फाले सोमबार न्युरोड टिम र जावलाखेल युथ क्लबबीचको खेल तालिका अनुसार हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्