कोरोनाबाट नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको छ: गृहमन्त्री खाण
काठमाडौं, माघ २ । गृहमन्त्री बालकृष्ण खाणले कोरोनाको तेस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
२४औँ भूकम्प सुरक्षा दिवस, २०७८ को अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।
उनले कोरोनाको तेस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकार लागिरहेको उल्लेख गरे । नागरिकलाई कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरूले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको उनले जानकारी गराए ।
मन्त्री खाणले भने, ‘हामी सबै विषम परिस्थितिमा छौँ । कोरोनाको तेस्रो लहरको कारण नेपाली जनता अहिले आक्रान्त भएका छन् । सरकारसहित सबै निकायले आमनेपालीको जीवनरक्षाका लागि संक्रमणको रोकथाम, व्यवस्थापन गरिरहेका छौँ ।’
भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्सानीलाई कम गर्न सकिने उनको भनाइ थियो । पछिल्लो समय नेपालमा कोरोनाको तेस्रो लहर सुरु भइसेको छ । संक्रमित दैनिक रुपमा बृद्धि भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्