‘लकडाउन होइन, स्मार्ट लकडाउन हुनसक्छ’

काठमाडौं,पुस २७ ।  सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ ।

सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निणर्यले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा देखिन थालेको छ । सङ्क्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नु परेका नेपालीहरुमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दीको अवस्थामा पुगिहाल्ने कुनै निणर्य गरेको छैन । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए । ‘बन्दाबन्दी बारेमा छलफल नै भएको छैन’, उनलेभ ने, ‘हामी अहिले सङ्क्रमणका रोकथाम र नियन्त्रणमा ध्यान दिन्छौं । अहिल्यै नै बन्दाबन्दीबारे सोचेका नै छैनौं ।’

मन्त्रालयले जुन क्षेत्रमा सङ्क्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । उनका अनुसार मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्