एकै दिन ९६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २३ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै जान थालेको छ । आज एकैदिन देशभर थप ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ ।

यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोभिड–१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन । हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् ।

यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७८ जना कोभिड संक्रमित थपिएका छन् ।आज काठमाडौंमा २८४, भक्तपुरमा ३२ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ६८० पुगेको छ ।आज देशभर ५ हजार २८६ जना होम आइसोलेसनमा र ४५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ५९ लाख ५ हजार ६६३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड १० लाख २ हजार ९७६ जनाले पूर्ण मात्रा र १ करोड ४९ लाख २ हजार ६८७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्