संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जान तयार
काठमाडौं, पुस २२ । संसदमा लामो समयदेखि जारी अवरोध हटाउने पहलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जाने भएका छन्।
बिहीबार भएको पाँच दलीय गठबन्धनको बैठकमा संसद अवरोध हटाउनका लागि अध्यक्ष ओलीलाई भेट्न सत्ताधारी नेताहरुले देउवालाई सुझाव दिएका हुन्।राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले देउवालाई बालकोट गएर संसदमा एमालेको अवरोध हटाउन पहलका लागि कुरा गर्न आग्रह गरिएको बताइन्।
बुधबार बालकोटमा भएको भेटबारे कांग्रेस नेता रामचन्द्र पौडेलले ब्रिफिङ गरेपछि देउवा बालकोट जान तयार भएका हुन्।तर आफूसँगको भेटमा ओलीले पुरानै अडान राखेको पनि पौडेलले बताएका छन्।
यता बैठकमा सहभागी जनमोर्चा उपाध्यक्ष पौडेलले सर्वदलीय बैठकमा एमालेलाई उपस्थित हुन सहमत गराउने जिम्मा पनि देउवालाई दिइएको बताइन्।बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ओलीलाई भेटेर संसदको अवरोध अन्त्य गर्न आग्रह गरेका थिए।
सरकारको उच्चस्तरीय समिति संयोजक पौडेलले देउवाको सन्देश पनि पुर्याउँदै संसदमा देखिएको गतिरोध हटाउन भनेका थिए।पौडेलले आफू बालकोट गएको बताउँदै संसदमा देखिएको गतिरोध हटाउन आग्रह गरेको बताएका छन्।
यसअघि ओलीले संसदमा देखिएको अवरोधबारे प्रधानमन्त्रीसँगै छलफल हुने बताएका थिए। त्यहीकारण देउवा बालकोट जान लागेका हुन्।
यता यसअघि सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीलाई फकाउन आफूहरु बालकोट जान तयार रहेको बताएका थिए।
यसैबीच एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको पद खारेज नगरेसम्म संसदको अवरोध जारी रहने अडानमा एमाले रहेको छ।















प्रतिक्रिया दिनुहोस्