नारायणहिटी प्रकरणमा छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्री आलेको निर्देशन

काठमाडौं, पुस २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी प्रकरणमा छानबिन समिति गठन गरेको छ ।

सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने अहिलेसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि समिति गठन गरिएको छ ।

आज बिहीवार गठन गरिएको यस समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा र समितिको सदस्य सचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका छन् ।दरबार सङ्ग्रहालयभित्र निर्माण गरिन लागेको रेस्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिए ।

मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिएका थिए ।

मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइसकेको छ । समितिले सङ्ग्रहालयको दश रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।

पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्