चोरी भएका १७ मोटरसाइकल र ९ वटा स्कुटर धनीलाई बुझाइयो

काठमाडौं, पुस २२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो।

महाशाखाले उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्क लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका छन्।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सूचना मार्फत ती मोटरसाईकल वरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए। सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकल राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ।

प्रहरीले आर्थिक वर्ष ०७८र७९मा हराएका दुई सय २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमा संलग्न ३२ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागि पठाएको छ।

प्रतिक्रिया दिनुहोस्