राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार जिताउन अपिल, सातै प्रदेशमा संयन्त्र गठन

काठमाडौँ , पुस २२ । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

गठबन्धनमा आवद्ध दलहरूका बीच राजनीतिक समन्वयका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीबार बसेको बैठकले सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको जानकारी दिए ।

गठबन्धनभित्रै विवादका बीच गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजकमा हाल कांग्रेस नेता रामचन्द्र पौडेल छन् । पौडेलले बुधबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट पुगेर भेटेका थिए ।

बिहीबारको बैठकमा पौडेलले ओलीसँगको भेटवार्ताको विषय प्रस्तुत गरेका छन् । बैठकमा प्रतिनिधिसभाको अवरोध खुलाउनेसहित पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा भएको छ ।

बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्