नेपाल पस्यो वर्षा र हिमपात गराउने मौसमी प्रणाली, सतर्क रहन चेतावनी

काठमाडौं, पुस २१ ।  नेपालमा फेरि वर्षा र हिमपात गराउने मौसम प्रणाली प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली मंगलबार राति प्रवेश गरेको हो ।

यो पश्चिमबाट क्रमशः पूर्व सर्दै देशभर फैलिने उनले जानकारी दिए ।
‘अहिले यो लुम्बिनी प्रदेशसम्म आइपुगेको छ’, मौसमविद् श्रेष्ठले भने, ‘यसपछि क्रमशः पूर्व हुँदै देशभर फैलिन्छ ।’ यसबारे मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो विशेष बुलेटिन जारी गरेर जानकारी दिइसकेको छ । बुलेटिनअनुसार उक्त मौसम प्रणाली शनिबारसम्म देशभर फैलिने सम्भावना छ ।

महाशाखाद्वारा आज (बुधबार) बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले देशका अधिकांश स्थानमा मौसम आंशिक (थोरै आकाशमा बादल) सामान्य (धेरै आकाशमा बादल) बदली छ ।

आज दिउँसो भने देशभर सामान्य बदली रहनेछ । साथै सुदूरपश्चिम, कणर्ाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ साथै यी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा पनि हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यस्तै राति पनि देशभर सामान्य बदली रहनेछ । अनि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सम्भावना छ भने यिनै प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बुलेटिनमा जानकारी दिइएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : सुदूरपश्चिम, कणर्ाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ । साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तनबारे जानकारी लिई मौसम पूर्वानुमानसम्बन्धी सूचनामा अध्यावधिक रहनहुन समेत अनुरोध छ ।

उच्च हिमाली र पहाडी भेगमा हिमपात हुनेछ । केही भेगमा भारी हिमपात हुने भएकाले ती हिमाली क्षेत्रमा पर्यटकीय यात्रा र दैनिक यात्रा नगर्न विभागले अपिल गरेको छ । प्रदेश १ र २ मा अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने भएको छ ।

ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ । वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर कम हुनेछ । यस पटक दोहोरिन थालेको हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने भएकाले सचेत रहन र गराउन सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्