निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्चको सीमा

काठमाडौं, पुस २१ ।   निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमासम्बन्धी सूचना सार्वजनिक गरेको हो । मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् ।

उनीहरुले सात वटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । आयोगले उनीहरुका लागि खर्चको सीमा निर्धारण गरेको हो । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची-१ मा उल्लेख भए अनुसार तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने गरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।

राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावली खरिद एक हजार, सवारी साधन/घोडा सत्तरी हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार तोकेको छ । यस्तै प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार गोष्ठी/अन्तरक्रिया एक लाख, अन्य प्रचार-प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा आयोगले ताकेको छ ।

प्रतिक्रिया दिनुहोस्