आजबाट राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू
काठमाडौँ , १९ पुस । आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी–२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट प्रशिक्षण सुरू गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि प्रशिक्षण सुरू भएको हो।
बन्द प्रशिक्षणको पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन्। २० जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरिसकेका छन्। ९ जना खेलाडीले बेलुकासम्म क्यानलाई रिपोर्टिङ गर्ने भएका छन्।
शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो मैदानमा उपस्थित भएर अभ्यास थालिसकेका छन्।
प्रशिक्षक दासानायकेका अनुसार सागर ढकाल, विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरिशंकर शाह लगायत ९ जना खेलाडीको पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रशिक्षणमा सहभागी भएका छैनन्।
क्यानले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो। मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो। जसकारण क्यानले सन्दिप लामिछानेलाई कप्तानमा नियुक्त गरेको थियो।
बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडी
सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, शरद भेसवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सराफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सानकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभकुमार खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल, हरिशंकर साह।
प्रतिक्रिया दिनुहोस्