गुरु नानक मठ परिसरको व्यवसायीक भवन निर्माणकार्य तत्काल बन्द गर्न माग

काठमाडौं, १७ पुस । बालाजु १६ नयाँ बजार विष्णुमती स्थित गुरु नानक मठ परिसरको जग्गा व्यवसायीक प्रयोजनको लागि अनाधिकृत भवन निर्माण गरेको भन्दै स्थानीयले त्यस कार्यलाई तत्काल बन्द गर्न माग गरेको छ ।
मठ परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी स्थानीय तथा सरोकारवालाहरुले मठ, मन्दिर, धार्मिकस्थलमा व्यवसायीक प्रयोजनका लागि भवन निर्माण गर्दा मठ मन्दिर तथा पुरातात्विक महत्वका स्थल नष्ट र धार्मिक सम्पदामाथी आक्रमण भएको भन्दै भवन निर्माण कार्य बन्द तथा संरचना भत्काउन माग गरेको हो ।
मठ संरक्षण तथा भवन निर्माण कार्य बन्द गर्न माग गर्दै स्थानीयले कामपा १६ वडा कार्यालय, काठमाडौं महानगरपालिका, गुठी संस्थान, अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगलाई पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएकोप्रति आक्रोस पोख्दै संरचना निर्माण कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
जनप्रतिनिधि, म्हैपी युवा क्लब तथा स्थानीय सरोकारवालाले मठ तथा मठ परिसर संरक्षण अभियाननै चलाएको छ । अभियानमा कामपा १६ को वडा सदस्य जीवन मानन्धरले धार्मिक क्षेत्र तथा वन परिसरमा व्यवसायीक भवन निर्माण गर्नु धार्मिक क्षेत्रमाथिको आक्रमण भएको बताए । मन्दिर परिसरमा वर्कसप तथा ग्रिल उद्योग सञ्चाल गर्दा वातावरणीय प्रदुषण हुने र चराचुरुङ्गीको वासस्थानमा समेत प्रभाव पार्ने बताए । उनले स्थानीयको विरोधपछि नगरप्रहरीले काम रोक्न दवाव दिंदा समेत अटेर गरी केही राजनीतिक दलको आडमा रातारात काम गरेको आरोप लगाए ।
त्यस्तै म्हैपी युवा क्लबका अध्यक्ष नवीन राजभण्डारीले मठ परिसर संरक्षण गर्दै पार्क तथा बगैंचा निर्माणका लागि अनुरोध गर्दागर्दै मठ प्रशासकले व्यवसायीक भवन निर्माणका लागि सम्झौता गर्नु नाजायज भएको बताए ।
त्यस्तै गुरु नानकका अनुयायी रवि सिंहले धार्मिक तथा पुरातात्विक महत्व राख्ने मठ परिसरमा व्यवसायीक भवन बन्नु विडम्बनाको विषय भएको बताए ।
गुरु नानक मठका महन्त नेमुनी उदासी र गुठि संस्थानको मिले मतोमा कामपा म्हैपी २६ बस्ने व्यवसायी हेमराज श्रेष्ठलाई व्यवसायीक प्रयोजनको लागि मासिक रु.२५ हजारमा भाडा लिने गरि जग्गा भाडामा दिने सम्झौता गरिएको छ । भवनमा १० वटा सटर र माथि तला निकालीएको छ । मठको संरक्षण गर्नुको साटो स्वंम मठका महन्तले व्यक्तिगत फाइदाको लागि मठको जग्गा व्यवसायीक प्रयोजनको निम्ति भाडामा लगाउनु सार्वजनीक सम्पत्तिको दुरुपयोग र अपराध पनि हो । यस्ता कार्य तत्काल बन्द नगरे एक दिन गुठि र मठ तथा मन्दिरको अस्थित्व नै समाप्त हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्