माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदन पारित, पुरक प्रस्ताव पनि समेटिए

काठमाडौँ, पुस १६ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै पेश गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन् ।

गत आइतबार सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।

तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

यता सोमबारको राजनीतिक प्रतिवेदनमाथि चार दिन लामो छलफल भएको थियो । २५ वटा समूहले दिएका सुझाव प्रस्तुतीकरण बिहीबार सकिएसँगै प्रचण्डले शुक्रबार जवाफ दिएका हुन् । जवाफ दिने क्रममा उनले सबैको भावना समेटेर दस्तावेजलाई परिपक्व बनाउने वाचा गरेका छन् ।

प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमाथि कडा आलोचना र टिप्पणी भएपछि अब देशमा हुने निर्वाचन लगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सबैका सुझावलाई समेटेर सबै तहका निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका हुन् । ‘सबैका सुझाव समेटेर देशमा हुने सबै तहका निर्वाचनपछि विशेष महाधिवेशन आयोजना गर्छौ । त्यहींबाट अहिले पेश भएको दस्तावेजलाई सापेक्षित पूणर्ता दिइनेछ’, उनले भने, ‘’तर खास समेट्न पर्ने कुरा अहिले नै समेटेर लैजानेछौं ।’

उनले जवाफ दिने क्रममा नेता राम कार्कीले पेश गरेको पुरक प्रस्तावलाई पनि आफ्नो मूल दस्तावेजमा समेटेर लैजाने वाचा गरेका छन् । त्यस्तै लेखनाथ न्यौपानेको भिन्न मतलाई पनि स्वीकार गरेर आवश्यकता अनुसार पार्टी संगठनमा बहसका लागि लैजाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्