राजेन्द्र लिङ्देन पुगे रवीन्द्र मिश्र निवास , अघि बढ्यो ‘एकता वार्ता’
काठमाडौं, पुस १६ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील(साझा पार्टीबीच एकतासम्म जाने गरी वार्ता सुरु भएको छ।
काठमाडौंमा भएको एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि राप्रपासँग विचार मिल्ने शक्तिसँग ६ महिनाभित्र एकता गरिसक्ने घोषणा गरेका लिङ्देन शुक्रबार बिहान मिश्रको निवास पुगेका हुन्।
महामन्त्री धवल शमशेर जबरालाई साथमा लिएर पुगेका लिङ्देन र मिश्रबीच देशको वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याएर अघि बढ्ने विषयमा कुरा भएको छ।
राप्रपाका एकजना नेता मोहन श्रेष्ठका अनुसार उक्त भेटघाटका क्रममा दुई नेताबीच विचार मिल्न सक्ने शक्तिबीच एक भएर अघि बढ्नेबारे कुरा भएको छ।
नेता श्रेष्ठले यसलाई विचार मिल्ने शक्तिलाई एकै ठाउँ ल्याउने अध्यक्ष लिङ्देनकै प्रयासको निरन्तरता भनेका छन्। दुवै पार्टीका नेताहरुले यसलाई मिलेर हिँड्ने सुरुवाती बिन्दु भनेका छन्।
विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले गत साउनमा एउटा दस्तावेज ल्याएर संघीयता खारेज गर्नुपर्ने बताएका थिए।
उनले आफूलाई हिन्दु धर्म र राजतन्त्रको पक्षमा पनि उभ्याएपछि राप्रपाले एकता प्रस्ताव अघि सार्न लागेको हो। मिश्रले दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने बताएका थिए।
अध्यक्ष लिङ्देनले राप्रपा अध्यक्ष भएपछि राजतन्त्र र हिन्दु राज्य फर्काउन छिन्नभिन्न भएका सबै शक्तिहरूलाई एकै ठाउँ ल्याउने घोषणा गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्