कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा अर्थमन्त्री शर्माको जोड
काठमाडौं,पुस १६ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४औँ वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।
अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तर्सम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तर्सम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दा मात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले किसानहरूको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका छ। र, यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यकता छ। हाम्रो बारीहरू बाँझो हुँदा हामी आयातीत वस्तुहरू खाइरहेका छौँ । उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि हाम्रो मुख्य माध्यम भनेको कृषि नै हो। कृषि क्षेत्रलाई व्यवस्थित, संगठित, परिचालित र राज्यको विशेष लगानीको आवश्यकता छ। आज कृषि क्षेत्र उपेक्षित छ। कृषि क्षेत्रले पाउनुपर्ने सेवा र सुविधा पाइरहेको छैन। किसानले पाइरहेका छैनन्। त्यतातिर हाम्रो ध्यानाकर्षण भएको छ,’ अर्थमन्त्री शर्माले भने।
शर्माले कृषि क्षेत्र र किसानहरू राज्यबाटै उपेक्षित भएको स्वीकार गर्दै अब उनीहरूलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरू स्थापना गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पुँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।















प्रतिक्रिया दिनुहोस्