नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार आरोप लागेका ९ जना सार्वजनिक
काठमाडौं, पुस १५ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रका होटलमा एक महिलालाई सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
सामूहिक बलात्कारको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो।प्रहरीले सार्वजनिक गरेको सूची अनुसार पक्राउ पर्नेहरु अधिकांश मुगु जिल्लाका छन्।
मुगुको छायानाथ रारा नगरपालिका– १० झाकोट घर भएका २३ वर्षीय हिक्मत नेपाली, सोही ठाउँका २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बढुवाल, २६ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका– ६ लिउडीका २१ वर्षीय सुरेश सेज्वाल, छायानाथ रारा नगरपालिका–११ का २४ वर्षीय चन्द्र साउद र अर्घाखाँजीको सितगंगा नगरपालिका–१२ का ४३ वर्षीय गोपालकुमार शिरिष छन्।
हस्त र चन्द्रलाई बुधबार दिउँसो पक्राउ गरिएको हो भने बाँकीलाई मंगलबार राति नै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। उनीहरुले पुस १२ गते साँझदेखि १३ गतेसम्म नयाँबसपार्क स्थित तीन वटा गेष्ट हाउसमा एक महिलालाई बलात्कार गरेका थिए।
सुर्खेतबाट काम खोज्न भनेर काठमाडौं आएकी ती महिलालाई काम लगाइदिने भन्दै फकाएर गेष्टहाउस लगेर बलात्कार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखी अनुसन्धान अघि बढाइएको छ।
यसैबीच बलात्कारमा संलग्न सबै आरोपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘बलात्कारमा संलग्न आरोपी विदेश जाने तयारीमा थिए,’ परिसर काठमाडौंका एसएसपी गिरीले भने
प्रतिक्रिया दिनुहोस्