जर्मनीको फराकिलो जित

एजेन्सी – रसिया विश्वकपलाई स्थान सुरक्षित गरिसकेको डिफेन्डिङ च्याम्पियन जर्मनीले समूह चरणको अन्तिम खेलमा फराकिलो जित हात पारेका छन् ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीले अजरबैजानलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकप छनोटको यात्रा सुखद रुपमा समाप्त गर्यो । अजरबैजानलाई पराजित गरेसँगै जर्मनीले विश्वकप छनोटमा अपराजित रहन सफल भयो । समूहको १० खेलमा जर्मनीले शतप्रतिशत जित निकाल्यो । छनोट खेलमा जर्मनी अहिलेसम्म अपराजित रहने टोली हो । एकपक्षीय बनेको खेलमा जर्मनीलाई जिताउन लियोन गोरेट्काले २ तथा स्यान्ड्रो वाङ्गर, एन्टोनियो रुडिगर र इम्री क्यानले १–१ गोल गरे । घरेलु मैदानमा जर्मनीले लियोन गोरेट्काको गोलबाट खेलको नवौं मिनेटमा अग्रता लिएको थियो । जोसवा किम्मिचको कर्नर प्रहारलाई लियोन गोरेट्काले ब्याक हिल गोल गरेका थिए । राम्रो खेल पस्केपनि जर्मनीले ३४ औं मिनेटमा बराबरी गोल खान पुग्यो । रमिल सेदायवले बराबरी गोल फर्काउदा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा जर्मनीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै चार गोल गर्न सफल भयो । स्यान्ड्रो वाङ्गरले खेलको ५४ औं मिनेटमा गोल गरेपछि जर्मनीले खेलमा पुनः अग्रता लियो । खेलको ६४ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गरेपछि खेल ३–१ को अवस्थामा पुग्यो । त्यसको दुई मिनेटपछि लियोन गोरेट्काले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेल सकिन ९ मिनेट बाँकी रहँदा इम्री क्यानले गोल गरेपछि जर्मनीले सहजै खेल ५–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्