भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए १३ हजार बढी नयाँ संक्रमित

काठमाडौं, पुस १५ । भारतमा पुनः कोभिड-१९ को संक्रमण बढ्न थालेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १३ हजार १५४ नयाँ संक्रमित थपिएका छन् ।

यसअघि बुधबार पनि कोरोनाका नयाँ संक्रमितको संख्या ४४ प्रतिशतले बढेको थियो । पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै संक्रमण पनि उल्लेख्य मात्रामा बढेको हो ।

भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टसहितका संक्रमितको संख्या ९६१ पुगेको छ । दिल्लीमा ओमिक्रोन भेरियन्टसहितका २६३ संक्रमित भेटिएका छन् ।

महाराष्ट्रमा ओमिक्रोनका २५२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्यामा सबैभन्दा धेरै वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २६८ जनाको मृत्यु भएको छ । उता बेलायतमा पनि संक्रमण तिब्र रुपमा फैलीदै जान थालेको छ ।

बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि एक लाख ८३ हजार ३७ संक्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

अधिकारीहरूले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यति धेरै संक्रमितहरू भेटिएको यो पहिलो घटना हो । यसअघि यहाँ सोमबार करिब एक लाख ३० हजार जनामा यो संक्रमण भेटिएको बताइएको थियो। यसैगरी मंगलबार यहाँ कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार मात्र यहाँ संक्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।

मंगलबार यहाँ मृत्यु हुनेको संख्या पनि बढेको पाइएको हो । यहाँ अहिलेसम्ममा एक करोड २५ लाखभन्दा बढी संक्रमित पाइएका छन् । त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरूले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि एक लाख ४८ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ, जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरूमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरूको संख्या पनि बढ्दो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्