कैलालीको लम्की क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री खाणको निर्देशन

काठमाडौं, पुस १४ । कैलालीको लम्की क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री खाणले निर्देशन दिएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी नायब उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

गृहमन्त्री खाणले मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई उक्त निर्देशन दिएका हुन्।

जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री खाँणले मजबुद सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। हाल अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ छ।

मन्त्री खाणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताए। नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ।

टोलीले मन्त्री खाँणलाई बुझाएको ध्यानाकर्षण पत्रमा गत कात्तिक २३ गते टिकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै यही पुस २ गते जानकी गाउँपालिका–९ अमरावतीमा अर्जुन दासको हत्याको निष्पक्ष छानविन गरी दोषीलाई कानून बमोजिम कारबाहीको माग गरिएको छ।

ध्यानाकर्षणपत्रमा कमजोर सुरक्षा निगरानीका कारण कैलालीमा आपराधिक घटना भएको उल्लेख छ। पछिल्लो समय यो क्षेत्रमा अपाधिकका घटना बढ्दै जान थालेका छन् । जनताले असुरक्षाका महसुश गर्न थालेका हुन्। उनीहरुले प्रहरीले शान्ति सुरक्षा दिन नसकेको गुनासो पनि गरेका छन् ।

यसरी सो क्षेत्रमा दिनानुदिन घटना बढ्न थालेपछि यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्