वर्षा र हिमपातले देशभरको जनजीवन कष्टप्रद, सुरक्षित रहन आग्रह

काठमाडौं , पुस १४ ।  वर्षा तथा हिमपातका कारण देशका धेरै स्थानको जनवीवन कष्टप्रद बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।

वर्षा र हिमपातका कारण ठाउँ-ठाउँमा यातायात बन्द भएको छ भने चिसो बढ्नाले खासगरी हिमाली जिल्लाको जनजीवन निकै कष्टकटर बनेको छ । यसैबीच आज दिउँसो तथा राति पनि वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले होसियारी अपनाउन मौसमविद्ले आम नगारिकलाई आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ : देशभर सामान्यदेखि पूणर्तया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

मनाङमा निरन्तर ७२ घण्टा हिमपात

मनाङ जिल्लाका सबै गाउँपालिकामा ७२ घण्टादेखि भारी हिमपात भइरहेको छ । आवगमन ठप्प भएको छ भने तापक्रम माइनस २० पुगेपछि जनजीवनमा झनझन् कष्टकर हुँदै गएको छ ।

म्याग्दीको तल्लो घोडेपानीमा परेको हिउँ

म्याग्दीको अन्नपूणर् गाउँपालिका-६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ ।

उता हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक फिटभन्दा बढी हिउँ जमेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले उत्तरी भेग नाम्खा गाउँपालिकाान तीन फिटभन्दा बढी हिउँ जमेको जानकारी दिए ।सिमकोट विमानस्थलमा रोकिएका विमानको केही भाग पनि हिउँले छोपिएको छ’, प्रजिअ आचार्यले भने । अहिले हुम्लाको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको जनाइएको छ । हिमपात हुँदा किसानहरूले भने समयमै बाली लगाउन पाउने हुम्लाको सर्केगाड गाउँपालिका-१ का वडाध्यक्ष गोकुल बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्