१५ महिनापछि लाइसेन्स छाप्दै विभाग, डेढ महिनामै ७ लाख कार्ड छाप्ने तयारीमा
काठमाडौँ , १४ पुस । यातायात व्यवस्था विभागले १५ महिनापछि लाइसेन्सको छपाई सुरू गरेको छ ।
विभागले २०७७ साल भदौदेखि बन्द रहेको छपाई सुरू गरेको जानकारी दिएको हो । यसअघि लाइसेन्स छाप्ने स्मार्ट कार्डको अभावका कारण छपाई रोकिएको थियो ।
विभागका महानिर्देशक नमराज घिमिरेले १४ लाख कार्ड आएपछि लाइसेन्स छपाई सुरू गरिएको जानकारी दिए । यसअघि नेपाललाई कार्ड सप्लाई गर्दै आएको फ्रेन्च कम्पनीले समयमै कार्ड उपलब्ध नगराउँदा लाइसेन्स छपाई बन्द थियो ।
विभागले परीक्षा उत्तीर्ण गरेका सात लाख परीक्षार्थीलाई लाइसेन्स उपलब्ध गराउन सकेको छैन । सवारी चालक अनुमति पत्रको ट्रायल उत्तीर्ण भएपछि रसिद उपलब्ध गराउँदै आएको छ । सात लाख जनालाई माघ मसान्तसम्ममा लाइसेन्स उपलब्ध गराउने योजनामा विभाग छ ।
‘लाइसेन्स छाप्ने मेसिनले प्रतिघण्टा ४५० वटा कार्ड छाप्न सक्छ । यो गतिमा प्रत्येक दिन १० हजारसम्म लाइसेन्स प्रिन्ट गर्ने योजना छ’, विभागका प्रवक्ता लोकनाथ भुषालले भने, ‘विभागमा भएको प्रिन्टर मेसिनलाई तीन सिफ्ट गरेर चलाइन्छ ।’ छापिएको कार्डलाई तत्कालै २१ वटै व्यवस्था कार्यालय पठाइने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्