सिरहामा निषेधाज्ञा , पाँच जनाभन्दा बढी भेला हुन रोक
काठमा, पुस १३ – सिके राउत नेतृत्वको जनमत पार्टीले चरणबद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन थालेपछि प्रशासनले आज बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबायाँ लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनका अनुसार निषेधित क्षेत्रमा समूहमा हिँडडुल गर्न पाइने छैन भने पाँच जनाभन्दा बढी भेला हुन पनि पाइने छैन । कुनै किसिमका भेला, सभा तथा जुलुस गर्न नपाउने आदेशमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार यातायात भने सुचारु रहनेछ । आदेश उल्लङ्घन गरेमा नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
पूर्वमा बलान खोला र पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ । जनमत पार्टीले पक्राउ परेका किसानहरूको विना सर्त रिहाइको माग गर्दै आन्दोलन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्