प्रचण्डको प्रतिबेदनमाथि छलफल आज, प्रतिनिधिलाई २५ समुहमा विभाजन

काठमाडौं , पुस १३ । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ । प्रदेश अनुसार विभाजन गरिएका यी समुहको छलफल प्रज्ञा भवनका विभिन्न हल एवं पार्टी मुख्यालय पेरिस डाँडामा हुनेछ ।

माओवादी महाधिवेशनको दोस्रो दिन हिजो दाहालले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवं राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ ।

यस्तै, वैचारिक अस्पष्टता हुँदा नेपालमा कम्युनिष्ट आन्दोलनलाई क्षती पुगेको दाहालको ठम्याई छ । दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा तीन वटा गल्ती गरेको स्वीकार्दै आत्मसमीक्षा गर्नु भएको छ ।

पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनुलाई उहाँले पहिलो गल्ती ठान्नु भएको छ । सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु, प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि दाहालले आफ्नो गल्ती ठम्याउनु भएको छ ।।

प्रतिक्रिया दिनुहोस्